काठमाडौं। पार्टी हित विपरीतका गतिविधि गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेले हिजो बुधबार तीन जना नेतालाई कारबाही गर्यो । सत्तारुढ दल नेकपा एमालेले नेतृत्वमाथि प्रश्न गर्ने नेतामाथि कारबाही गरेपछि अहिले विभिन्न तर्क र टिप्पणी सुरु भएका छन्।
एमाले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बनेको टिप्पणी पनि भइरहेको छ । बुधबार बसेको एमालेकोे सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोस्दै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।
कारबाहीमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छाचारी, तानाशाही र निरङ्कुश निर्णय गरेर आफूलाई निष्कासन गरेको बताउनुहुन्छ ।
ओलीको सत्ता उन्मादका कारण आफू निष्कासनमा परेको रावलको भनाई छ । ‘यो केपी ओलीको सत्ता उन्माद हो, प्रधानमन्त्री पनि भएको, पार्टीको अध्यक्ष पनि भएको सत्ताको उन्मादमा गरिएको रावलको प्रतिक्रिया छ ।
संगठित सदस्यता खोसिएका रावल ०७८ सालको मंसिरमा चितवनमा सम्पन्न पार्टीको १०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता हुनुहुन्छ । पूर्व उपाध्यक्ष रहनुभएका रावल ओलीसँग पराजय व्यहोरेपछि वहिष्करणमा पर्दै आउनुभएको थियो ।
अध्यक्षमा हारेपछि उहाँलाई एमालेले सल्लाहकार सदस्य बनाएको थियो । तर, रावलले सो जिम्मेवारी लिन अस्वीकार गर्नुभएको थियो । ओलीले सिद्धान्तबाट च्यूत भएर एमालेलाई कम्पनीमा परिणत गर्न लागेको आरोप भीम रावलको छ ।
ओली कम्पनीको जग भत्किने र इमान्दार कार्यकर्ताहरुबाट ओलीको कार्यविरुद्ध विद्रोहको सुरुवात हुने रावलको चेतावनी छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दिनुभएको थियो ।
विवादास्पद व्यापारी गुरुङबाट जग्गा दान लिएको भन्दै कारबाहीमा परेका तीनै जना नेताहरुले असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जालमा लेखेको भन्दै गत कात्तिक ४ गते तीनै जना नेताहरुलाई एमालेले स्पष्टीकरण सोधेको थियो ।
पाण्डे र तिम्सिनाले स्पष्टीकरणको जवाफ दिएपनि रावलले भने कुनै जवाफ दिनुभएको थिएन । एमालेको ६ महिने निलम्बनमा पर्नुभएकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने भन्दै प्रतिक्रिया दिनुभएको छ ।
स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले नेताहरुले आफूहरुलाई ६ महिनाका लागि बिदा दिएको टिप्पणी गर्नुभएको छ। पार्टी हितविरुद्ध निरन्तर आवाज उठाएपछि रावलको सदस्यता खोसिएको एमालेले जनाएको छ।
उपमहासचिव प्रदीप ज्ञवालीले रावलका अभिव्यक्तिहरु पार्टीलाई बलियो बनाउने भन्दापनि कमजोर बनाउने हिसाबले निरन्तर आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय भएको बताउनुभएको थियो।
स्वतन्त्र विश्लेषक मुमाराम खनाल नेपालमा पार्टीहरु एउटा नेताको निजी कम्पनी भएको टिप्पणी गर्नुहुन्छ । कम्युनिष्ट पार्टीहरु अहंकारी र व्यक्तिवादि भएको तर्क उहाँको छ । नेतातन्त्रमा कार्यकर्ताको,सदस्यको कुनै अधिकार नहुने खनालको तर्क छ ।
पार्टी विधानले पनि पार्टी सदस्यलाई पार्टीका कतिपय नीतिनिर्णयहरू चित्त बुझेन भने स्वस्थ ढङ्गले आलोचना गर्ने छुट दिएको हुन्छ । कारबाहीकै प्रक्रियामा जानु हतार भएको टिप्पणी पनि यतिखेर भईरहेको छ । पार्टीले तीन जनालाई कारबाही गरेपछि एमाले महासचिव शंकर पोख्रेलले पार्टी अनुशासनबारे एआईको धारणा पनि सार्वजनिक गर्नुभएको छ ।
‘पार्टीमा अनुशासनको महत्व अत्यन्तै उच्च छ,’‘किनभने कुनै पनि संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुन्छ । अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ।’ उहाँले भन्नुभएको छ ।