काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा सबै एक भएर जुट्नुपर्ने बताउनु भएको छ।
वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हावा र प्रकृतिलाई स्वच्छ राख्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर लाग्नुपर्ने अवस्था रहेको बताउनु भएको हो।
उहाँले अरु विषयमा बेमेल भइरहेका मुलुक पनि यो विषयमा एक भएर लाग्नुपर्नेमा आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उहाँले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन जागरण फैलाउनु पर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो।
नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा पनि राखेको स्मरण गराउँदै उहाँले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको जनाउनुभयो ।