काठमाडौं । एमाले पूर्वउपाध्यक्ष डाक्टर भीम रावलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो गुणगान, गुट, पद, र स्वार्थबाहेक अरु नचाहिएको आरोप लगाउनुभएको छ ।
एमालेले आफूलाई निष्कासन गर्नु ओलीको सत्ता र शक्तिको उन्मादयुक्त, निरङ्कुश, स्वेच्छाचारी र तानाशाही निर्णय भएको पूर्वमन्त्रीसमेत रहनुभएका रावलको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रावलले दर्जनौ फौजदारी अभियोगमा लागेका, अनैतिक भ्रष्ट र मुलुककलाई टुक्र्याउछु भन्नेहरुसँग ओलीले अंगालो मारेर हिडेको उदाहरणहरु थुप्रै रहेको दाबी गर्नुभयो ।
ओलीले देशभक्तीपूर्ण, सुशासनको पक्षमा, पार्टीको नीति विधी र यसको परम्पराकापक्षमा दृढतापूर्ण उभिने मान्छेलाई दमन गरेको आरोप लगाउँदै उहाँले आफू भने जो सुकैसँग मिलेर पदमा रहिरहने, प्रधानमन्त्री भइरहने र पार्टी अध्यक्ष भइरहने मनसायमा रहने टिप्पणी गर्नुभयो ।
केपी ओलीले गरेको यो तानाशाही, निरङकुश निर्णयबाटै उनको ओरालो यात्रा अझ तीव्र हुने नेता रावलको दाबी छ । केपी ओलीले आफूलाई सदस्यता दिएको पनि नभएकाले उहाँले निष्कासन गर्दैमा कुनै फरक नपर्ने रावलको तर्क छ । ओलीको भन्दा धेरै संगठन विस्तार आफूले गरेको उहाँको दाबी छ ।
नेता रावलले भोलिको लागि कस्तो कदम चाल्ने भन्नेबारेमा सबैसँग सल्लाह लिएर देशको हितका लागि जे आवश्यक हुन्छ सोहि अनुसार अगाडि बढ्ने बताउनुभयो ।
एमालेले हिजोमात्रै नेता रावललाई पार्टीबाट निष्कासन गरेको छ भने स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
सचिवालय बैठकले तीन जना नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सल्लाहकार रहेका नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएकोले पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको एमालेले जनाएको छ ।
यस्तै पाण्डे र तिम्सिनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गर्ने सचिवालय बैठकले निर्णय गरेको हो । तीनै जना नेताहरुले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन पार्टीले दान लिएको विषयलाई आलोचना गरेका थिए । उनीहरुलाई कात्तिक ४ गते स्पष्टीकरण सोधिएको थियो । पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’जवाफ दिएका थिए । एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण नै दिनुभएको थिएन ।