काठमाडौं। प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले सरकार संसद्बाटै तर्केर हिँडिरहेको आरोप लगाउनुभएको छ ।
संसद् सचिवालयले भक्तपुरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले आफूलाई समस्या नपरेसम्म वा संसद्बाट कानुन निर्माण गर्नैपर्ने अवस्था नआएसम्म सरकार तर्केर हिँड्ने गरेको टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्न्ुभयो,’एउटा गम्भीरताका साथ महसुस गरेको कुरा के हो भने संसद् सरकार जन्माउने आमा हुन्, जननी हुन् तर आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, यसलाई बाइकट गरेर जाने बाटा खोज्ने, तर्सिने अथवा तर्किने आदि जे गरेर हिँडिरहेको छ, यो बेठिक छ।’
सभामुख घिमिरेले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनका लागि सबै क्षेत्रबाट पहलकदमी हुनुपर्नेमा जोड दिनुभयो ।