काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सहकारी ठगी गर्ने कसैलाई पनि नछाड्ने बताउनु भएको छ।
काठमाडौंमा आज तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने दाबी गर्नुभएको हो।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा बनेको उक्त समितिको प्रतिवेदनमा रहेका सहकारी ठगी आरोपित सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभयो ।
उहाँले रास्वपा पार्टीलाई मात्रै टार्गेट ग¥यो सरकारले भन्नु गलत बुझाइ रहेकोमा प्रस्ट पार्नुभयो। यस्तो होहल्लाले सहकारी ठगीको छानबिन र अनुसन्धानलाई ओझेलमा पार्न गरिएको चलखेल रहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिवेदनमा उल्लेख भएका व्यक्ति एकैचोटी कारबाहीमा ल्याउन सक्दैनौँ। पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ, सहकारी ठगी गर्नेहरू उम्किन्छु भन्ने नसोचे हुन्छ।” मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धानको प्रक्रियामा रहेका रास्वपाका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताउनुभयो ।
अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेको भन्दै यो लोकतान्त्रिक पद्धतिविपरीत कार्य भएको सुनाउनुभयो। सहकारी ठगीमा कसैलाई पनि छोड्न नमिल्ने भन्दै मन्त्री गुरुङले भन्नुभयो,“सहकारी ठगी गर्ने चाहे त्यो कांग्रेस, एमाले, माओवादी होस् या जोसुकै हामी छोड्दैनौँ ।”