काठमाडौं । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (एनएएएमआई) ले बुधबार एनुअल नेपाल एआई स्कुलको आयोजना गर्ने घोषणा गरेको छ । यो ११ दिने शैक्षिक कार्यक्रम यही पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ । यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनहरूमा केन्द्रित छ ।
संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला, र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एसियाकै सबैभन्दा ठुलो र सबैभन्दा पृथक मञ्च एनुअल नेपाल एआई स्कुल हुने आयोजकको दाबी छ ।
एनएएएमआइका अनुसार एनुअल नेपाल एआई स्कुलले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ ।
कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजना हुँदै छ । यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेसनलहरू सहभागी हुन सक्नेछन् । विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन् ।
“सानो ठाउँबाट ठुला परिवर्तन आउन सक्छ,” भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कुलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ ।
विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्रहरू जियोमेट्रिक डीप लर्निङ, फण्डामेण्टल मोडल्स एण्ड एप्लिकेशन र मोर्डन प्राक्टिसेजमा भौतिक कक्षाहरू सञ्चालन गर्नेछन् ।
एनएएएमआईका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालका अनुसार यो कार्यक्रम दक्षिण एसियामा उत्कृष्ट अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो । उहाँले भन्नुभयो, “नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्याउनेछ ।”
एनएएएमआईका एजुकेशन आउटरीच प्रमुख अलोक खत्री भन्नुहुन्छ, “एनुअल नेपाल एआई स्कुलले केवल शिक्षा मात्र प्रदान गर्दैन, ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यवहारिक कार्यशालामा भाग लिने, र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि प्राप्त हुन्छ ।”
कार्यक्रमलाई सफल बनाउन एफवान सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एसिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतले साझेदारी गरेका छन् । यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् ।