काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्रका गुट–उपगुट सक्रिय छन् । कांग्रेस नेता डा शेखर कोइराला आफ्नो पार्टी नेतृत्वप्रति असन्तुष्ट हुनुहुन्छ ।
लगातार केहि समय देखि उहाँले पार्टी सभापति माथि चर्को असन्तुष्टि व्यक्त गरिरहनु भएको हो । कांग्रेस र एमालेबीचको वर्तमान सरकारका काम कारवाहीप्रति पनि प्रतिपक्षी दलको नेतासरह कोइरालाले टिप्पणी गरिरहनु भएको छ ।
पछिल्लो समय कांग्रेस नेता शेखर कोइरालाका अभिव्यक्ति सभापति शेरबहादुर देउवा लक्षित छन्। अहिले पार्टीमा विचलन भएको र त्यसलाई स्वीकार्नुपर्ने कोइरालाको माग छ। आफू बाध्य भएर ४०/६० को भागबण्डामा लागेको नेता कोइरालाको भनाइ छ।
सभापतिले केही कुरा सुन्दै नसुन्ने हो भने अप्ठेरो पर्ने उहाँको तर्क छ।आफूलाई भागबण्डामा लागेको आरोप लगाइए पनि सभापति देउवाका कारण त्यसो गर्न बाध्य भएको आरोप पनि कोइरालाले लगाउनु भएको छ।
यता नेपाली कांग्रेसका नेताहरूले केही असन्तुष्टि भए पार्टीभित्रै राख्न नेता शेखर कोइरालालाई सुझाव दिन्छन्। हालै कोशी प्रदेशको प्रथम सम्मेलनमा कोइराला सहभागी हुनुभएको थिएन। उहाँ चितवनमा आयोजित शोकसभामा जानुभएको थियो।
त्यसअघि कोइरालाले कोशीका पालिका सभापतिस्तरीय प्रशिक्षण गर्नुभएको थियो। उक्त प्रशिक्षण आधिकारिक नभएको भन्दै केन्द्रीय कार्यालयले पत्र नै पठाएको थियो।आफ्नो अगुवाइमा भएको कार्यक्रमलाई केन्द्रीय कार्यालयले आधिकारिक नभएको व्यहोराको पत्र पठाएपछि आफूलाई चित्त दुखेको कोइरालाको गुनासो थियो।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सन्तुष्टि वा असन्तुष्टिका विषय पार्टीभित्रै छलफल गरिनुपर्नेमा जोड दिनुहुन्छ। आन्तरिक विषयलाई बाहिर छलफल गर्ने विषय बनाउन नहुने र पार्टी एक भएर जानुपर्ने र जुनसुकै विषयवस्तु पार्टीकै सम्बन्धित मन्चमा छलफल गरिनुुपर्नेमा प्रवक्ता महतको भनाइ छ ।
नेताहरुले पार्टी एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताउदै आएका छन् । शेखर कोइरालाको अहिलेको जिल्ला जिल्लाको दौडधुप पार्टीको १५औं महाधिवेसनमा सभापतिका लागि प्रचारको भएको कतिपय नेताहरुले बताइरहेका छन् ।
तर, कोइराला पक्षका कांग्रेस सहमहामन्त्री जीवन परियारले कोइराला सभापतिका लागि प्रचारमा दौडेको भन्ने हल्ला गलत भएको बताउनुहुन्छ । उहाँले शेखर कोइराला र गगन थापाबीच कुरा मिलेको छैन भन्ने कुरा पनि अनावश्यक भएको तर्क गर्नुहुन्छ ।
संस्थापनभित्र नेतृत्वका लागि देउवापछि को भन्ने अन्योल भइरहँदा शेखर कोइरालाले सभापतिको भागदौडमा लाग्नुभएको नेताहरुले दाबी गरिररहेका छन् ।
विधानतः चार वर्षभित्रै २०८२ मंसिरमा कांग्रेसको महाधिवेशन हुनुपर्छ। आगामी वर्ष मंसिरभित्रै १५औं महाधिवेशन गरिनुपर्ने अडानसहित शेखर कोइरालाले पार्टी संस्थापनमाथि दवाव बढाइरहनु भएको हो ।