काठमाडौं । सांसदहरूले आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका छन् । सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनीहरूले आत्महत्या दर दिनहुँ बढ्दै गएको अवस्थामा पनि आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका हुन् ।
साथै उनीहरूले आत्महत्या बढ्दै जानुको कारणको पहिचान गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालले वडा स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन गरेर विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान अभ्यासलगायतका कार्यक्रमहरू वडा स्तरबाटै सञ्चालन भइरहेको उहाँले बताउनुभयो । मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनीकरण अभियान सुरू गरिसकेको उहाँको भनाइ छ ।
बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले सय बेडभन्दा बढीको अस्पतालमा अनिवार्य रुपमा मानसिक स्वास्थ्य चिकित्सक खटाउने व्यवस्था रहेको जनाएका थिए । त्यस्तै हाल प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने तथ्याङ्क रहेको उनीहरूले जानकारी दिए ।