काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । आज अपरान्हः४ बजे बस्नेगरी बैठक तय भएको छ ।
आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने एक नेताले बताए । बैठक भर्चुअल माध्यमबाट बस्ने छ ।
‘आज अपरान्ह: ४ बजे बस्नेगरी बैठक तय भएको छ,’ ती नेताले भने, ‘हामी भर्चुअल माध्यमबाट बैठकमा जुट्छौं ।’ ती नेताका अनुसार कार्यबाहक सभापतिमा डोलप्रसाद अर्यालकै सम्भावना छ ।
‘पहिल्यै केन्द्रीय समितिबाटै निर्णय भइसकेको हो । आज त्यसलाई औपचारिकता दिनुपर्छ कि भनेर छलफल गर्दैछौं ।’ यद्यपि पार्टीले निर्णय नलिइ त्यसबारे केही भन्न नसकिने ती नेता बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि आइतबार मुद्दा दर्ता भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।मुद्दा दायर भएसँगै रविको सांसद पद निलम्बनमा पर्ने भएको छ ।
पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।