काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रबी लामिछाने र पूर्वडिआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा सभापति लामिछाने र पूर्वडीआईजी जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध आज मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो।
लामिछाने र जोशीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भइरहेकोले आइतबार मुद्दा दर्ता गर्ने तयारी छ।
सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै लामिछाने र जोशीलगायतविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ।