काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । ११ दिनको अस्पताल बसाइँ पछि उहाँ घर फर्किएर आराम गरिरहनुभएको छ । यसको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिनुभएको हो ।
‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ ।
केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उहाँले बताउनुभएको छ । यही कात्तिक १० गते उहाँको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उहाँलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।