काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भएको छ ।
अन्तर व्यवस्थापिका मञ्चको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातवटै प्रदेशका संसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
संसद्को प्रभावकारी भूमिकाले सरकारका गतिविधिलाई प्रभावकारी बनाउने उल्लेख गर्दै उनले दलहरूको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो।
परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुख घिमिरेले सङ्घ र प्रदेशबिच राम्रो समन्वय हुनु जरुरी भएको बताउनुभयो। संघबाट बनेका कानुनको प्रभावकारी कार्यान्वयन प्रदेशबाट हुन नसकेको जिकिर गर्दै उहाँले अन्तर व्यवस्थापिका मञ्चका यस किसिमका सम्मेलनले समस्या समाधान गर्न मागदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।