काठमाडौं । भर्खरै मात्र चीन भ्रमणबाट फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थाल्नुभएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सन् २०२५ जनवरीको पहिलो वा दोस्रो साताभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने गरी तयारी थालिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली भारत भ्रमणको आन्तरिक तयारीमा जुटेकाले सोही तयारी समेतका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा (देउवा) पुस ३ गते दिल्ली पुग्दै हुनुहुन्छ । नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो आइसकेको दाबी गर्नुभएको छ ।
‘प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आइसक्यो ?’ भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभएको छ, ‘नआएको भए प्रधानमन्त्रीले म जान्छु भनेर बोल्नुहुन्छ र ? प्रधानमन्त्रीले सार्वजनिक रुपमा बोलेको कुरा चिया खाँदा गफ गरेको जस्तो नभएकाले त्यसलाई हलुका रुपमा लिन नहुने भनाई भट्टराईको छ ।
यसअघि भारत भ्रमण अघि प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुभएको थियो । प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट सुरु नभएर किन चीनबाट भन्ने विषयमा राजनीतिक वृत्तमा प्रश्न उठेको थियो र चर्चा पनि भएको थियो । प्रधानमन्त्रीले म अब निकट भविष्यमै भारत भ्रमणमा जान्छु भनिसक्नु भएको छ । भारत भ्रमण निकट भविष्यमै हुने र नेपालको भारतसँगको सम्बन्ध अत्यन्तै सुमधुर रहेको भनाई प्रदेश इन्चार्ज भट्टराईको छ । प्रधानमन्त्रीको भारत भ्रमण सफल हुने पनि उहाँको दाबी छ ।
प्रधानमन्त्री ओलीमाथि दक्षिणतिरबाट उत्तरतिर ढल्किएको आरोप पनि आइरहेका छन् । चीनको औपचारिक भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भारत भ्रमणको व्यवस्था मिलाउने बताउनुभएको थियो ।
चीन जानु पहिले प्रधानमन्त्री ओलीले जताबाट पहिला निम्ता आउँछ उतै जाने हो भन्दै आफू सबैसँग सन्तुलित सम्बन्ध राखेर नै अघि बढ्ने बताउँदै आउनुभएको थियो ।
दिल्लीले निमन्त्रणा दिएको भए प्रधानमन्त्री ओली चीन भन्दा पहिले भारत भ्रमणमा जानुहुन्थ्यो तर उताबाट निमन्त्रणा नआएकाले प्रधानमन्त्री ओली चीन गएको टीकाटिप्पणी पनि भएको थियो । प्रधानमन्त्रीले जुन देशबाट भ्रमण सुरु गरेपनि चीन र भारत हाम्रा छिमेकी मुलुक भएकाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्ता हुन्छ । दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने नेपालको बाध्यता र आवश्यकता छ ।