काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सचिवालयमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले अभियोगपत्रको संज्ञा दिएका छन् । उनीहरुले प्रचण्डले पेश गरेको दस्तावेजलाई प्रतिवेदन भन्न नमिल्ने तर्क गरेका छन् । “यस्तो दस्तावेजलाई पनि प्रतिवेदन भनियो भने प्रतिवेदन भन्ने शब्दको पनि अनर्थ लाग्छ, त्यसैले यसलाई प्रतिवेदन भन्न मिल्दैन, अभियोगपत्र भन्नु पर्छ,” नेकपाका नेता केशव बडालले भन्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अभियोगपत्र तत्काल फिर्ता लिन अध्यक्ष प्रचण्डलाई अनुरोध गर्नुभयो । नेकपाको सल्लाहकार परिषद्का अध्यक्ष समेत रहनु भएका बडालले प्रचण्डको अभियोगपत्र फिर्ता गराउनका लागि देशभरीका सवै नेता तथा कार्यकर्ताहरुले दवाव सृजना गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, “अभियोगपत्रले समस्या समाधान हैन थप बढाउने भएकाले त्यसलाई तत्काल फिर्ता गराउनका लागि देशैभरीबाट दवाव सृजना गर्न म सवैलाई आह्वान गर्दछु ।”
गतल कार्यको शसक्त ढंगले विरोध गर्नु र सच्याउन बाध्य पार्नु सवै नेता कार्यकर्ताको जिम्मेबारी भएको उहाँले तर्क गर्नुभयो । नेता बडालले अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै भन्नुभयो, “उहाँले उत्तेजनामा पेस गरेको पनि हुनसक्छ, त्यसलाई फिर्ता लिन लाज मान्नु पर्दैन, तत्काल फिर्ता लिनु भयो भने सवैलाई राम्रो हुन्छ ।”
पार्टीको एकता प्रक्रिया पुरा नगरी पार्टी विभाजित गर्न खोज्नेलाई जनताले राम्रैसँग दण्डीत गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री तथा अध्यक्ष ओली निकट मानिनुहुने नेता बडालले स्थायी समितिको निर्णय अनुसार अगाडि बढ्न सवैलाई सुझाव दिनुभयो । सरकार र प्रधानमन्त्रीलाई असहयोग र अवरोध गर्ने कसरत धेरै भएको भन्दै उहाँले त्यस्ता गतिविधिलाई अनिष्टकारी चिन्तन र हर्कतको संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले केपी ओलीले धेरै काम गरेकाले अरुले स्विकार गर्न वा पचाउन नसकेर अवरोधमा उत्रिएका हुन, पूर्व प्रधानमन्त्रीहरुले आफुले गर्न नसकेका काम अहिले भइरहेकाले रिस गरेका हुन, त्यस्तो गर्नुहुदैन ।” ओलीको विपक्षमा रहेका अर्का अध्यक्ष दाहाल, पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र झलनाथ खनालप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । “अध्यक्ष हुने रहर भएकालाई महाधिवेशनको तयारी गर्न र प्रधानमन्त्री हुने रहर भएकालाई जनताको मन जित्न सुझाव छ,”नेता बडालले भन्नुभयो ।