काठमाडौँ – सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु भिडन्तमा उत्रेका छन्।
खासगरी पार्टीको दोस्रो तहका नेताहरुबीच सामाजिक सञ्जालमार्फत युद्ध सुरु भएको हो।
नेताहरुबीच चलिरहेको आरोप प्रत्यारोप हेर्दा अब विवाद समाधान हुने भन्दा पनि पार्टी विभाजनका लागि तयार भएको संकेत दिइरहेको छ।
दुवै समूहका नेताहरुले पार्टी गम्भीर संकटमा उभिएको स्वीकार गरेका छन्।
प्रचण्डको राजनीतिक प्रस्तावलाई लिएर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु आक्रोशपूर्ण अभिव्यक्ति दिन थालेका छन्।
यसको अगुवाई ओलीका योद्धाहरु सूर्य थापा, गोकुल बाँस्कोटादेखि लिएर शंकर पोखरेल र ईश्वर पोखरेलहरुले गरिरहेका छन् ।
उपप्रधामन्त्री ईश्वर पोखरेलले पार्टी बचाउने हो भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावका रुपमा अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप फिर्ता लिनु पर्ने बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत दुराग्रहका साथ प्रस्तुत प्रस्तावहरु फिर्ता लिएर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्ताउने भन्दै प्रचण्डलाई प्रश्नसमेत गर्नुभएको छ ।
प्रचण्ड मात्रैले नभई नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नुपर्ने पोखरेलको भनाई छ ।
सहमतिकासाथ अघि बढ्नु पर्नेमा पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्तै असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको आरोप लगाउनुभएको छ ।
यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका स्थायी कमिटि सदस्य पोखरेलले प्रचण्डको प्रस्तावले पार्टी फुटतफ्र अग्रसर भएको जिकिर गर्दै त्यसलाई फिर्ता गर्न आग्रह गर्नुभएको छ ।
ओलीको कुर्सी बचाउन पटकपटक काठमाडौं धाइरहेका पोखरेलले खुलेरै प्रचण्डको प्रस्तावको विरोध गर्नुभएको हो । त्यस्तै, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रचण्डको राजनीतिक प्रस्तावमा अप्रमाणित आरोपहरु रहेको बताउनुभएको छ ।
पार्टीको एकता जिवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोवैज्ञानिक आधार समाप्त पारेजस्तो देखिएको बताउँदै उहाँले फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएको छ ।
त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको दस्तावेजलाई भ्रमको पुलिन्दाको संज्ञा दिनुभएको छ । उहाँले उक्त प्रस्ताव नेकपाका कुनै तहका बैठकमा छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको भन्दै अविलम्ब फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ ।
तर प्रचण्ड–नेपाल समूहका नेताहरुले भने कार्यकारी अध्यक्षको राजनीतिक प्रस्ताव कुनै हालतमा फिर्ता नहुने अडान लिएका छन् । उपाध्यक्ष वामदेव गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले पाँचै जना नेताहरुको सहमतिमा आएको प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभयो ।
राजनीतिक प्रस्ताव पेश भएलगत्तै ओली समूहका नेताहरु प्रचण्डमाथि जाइलाग्न थालेपछि पूर्व माओवादी खेमाका नेताहरुले पनि त्यसको प्रतिवाद गरेका छन् ।
सरकारका उर्जामन्त्री तथा स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रचण्डले बुझाएको प्रतिवेदनको बचाउ गर्दै यसलार्य नयाँ बहसको सुरुवातका रुपमा लिन आग्रह गर्नुभएको छ ।
पार्टी जमेको पोखरी नभई हिमालबाट बग्ने तीब्र बेगको नदीजस्तो भएकाले छलफल, बहस, अन्तरविरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवम् कार्यकर्ताको जिम्मेवारी हुन नसक्ने उहाँले स्मरण गराउनुभएको छ ।