काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताउनुभयो । कार्कीले अहिले संविधान संशोधनको बेला नभई उपयोगको बेला भएको समेत बताउनुभयो । अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनैपनि संविधानले देश विकास गर्न नसक्ने उहाँको भनाई थियो ।
उहाँले वर्तमान संविधानमा भाषा नमिलेको देखिए पनि सुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताउनुभयो । शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको उहाँको भनाई थियो ।
कार्कीले भन्नुभयो, ‘संविधानको संशोधन नहुने भन्ने होइन, संविधानको संशोधन हुनुपर्छ । तर मेरो विचारमा भर्खर ९ वर्ष भएको छ । जब अरू मुलुकमा सयौं वर्षसम्म संशोधन हुँदैन भने यसको राम्रो प्रयोग नभईकन, उपयोग नभईकन संशोधन हुनुपर्ने आवाज आइरहेको छ । त्यो हुनु हुँदैन । यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो । नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिहरूले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो । हामी कानुन पढेका मान्छेहरूले हेर्दा यो संविधानमा भाषा मिलेको देखिँदैन । क्रमबद्धमा फरक छ । सुरुदेखि अन्त्यसम्म कुरा पुगेको छ ।’
कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताउनुभयो । उहाँले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको समेत स्पष्ट पार्नुभयो। उहाँले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लङ्घन भएको बताउनुभयो ।