काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री लेखकले अदालतको आदेशअनुसार नै लामिछानेमाथि अनुसन्धान भइरहेको बताउनुभयो ।
‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ’, उहाँले भन्नुभयो, ‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ ।’ लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने लेखकको भनाइ छ ।
गृहमन्त्री लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने कुनै काम कसैले पनि गर्न नहुने बताउनुभएको छ । जनताले दुःख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनुभयो ।
गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर गर्नुभयो । संविधान संशोधन तथा राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यकता महसुस भएकाले जनचाहना अनुसार काम हुने उहाँको दाबी छ ।