काठमाडौं। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको छ । आज बसेको बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल भएपनि कुनै निर्णय नभएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो ।
‘आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भयो तर निर्णय भएको छैन । भोलि शनिबार बिहान ११ बजे बस्ने बैठकमा पुन छलफल हुनेछ’, भट्टराईले भन्नुभयो, ‘वार्षिक कार्ययोजना बनाएर मात्रै नेताहरूको कार्य विभाजनमाथि छलफल प्रवेश हुन्छ ।’
महासचिव घनश्याम भुसालले बुधबारको बैठकमा पेस गरेको कार्ययोजनालाई आधार बनाएर आजको बैठकमा नेताहरुले वार्षिक कार्ययोजनाबारे धारणा राखेका थिए । आजको बैठकमा नेताहरू भानुभक्त जोशी, राजेन्द्र राई, श्रीनाथ बराल, रामकुमार भट्टराई, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र शेरबहादुर कुँवरले धारणा राख्नुभएको छ ।
पदाधिकारीले बोल्ने क्रम सकिएपछि स्थायी कमिटी सदस्यले धारणा राखेर वार्षिक कार्ययोजनाबारे टुंगोमा पुग्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनुभयो ।