Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकार विचौलियाहरुको भएको प्रतिपक्षीको आरोप,पुष्टि गरेर देखाउन एमालेको चुनौति,सुशासनबारे सरकारको रटान कायमै (खासखबर)

सरकार विचौलियाहरुको भएको प्रतिपक्षीको आरोप,पुष्टि गरेर देखाउन एमालेको चुनौति,सुशासनबारे सरकारको रटान कायमै (खासखबर)

  • बुधवार, मंसिर २६ २०८१

  • 401
    SHARES

  • सरकार विचौलियाहरुको भएको प्रतिपक्षीको आरोप,पुष्टि गरेर देखाउन एमालेको चुनौति,सुशासनबारे सरकारको रटान कायमै (खासखबर)

    काठमाडौं। सरकारले अहिलेको मुख्य एजेण्डा भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण रहेको दाबी गरिरहेको छ । संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण गरी देशमा राजनीतिक स्थायित्वका लागि एमाले–कांग्रेस गठवन्धन बनेको सरकारको दाबी छ ।

    तर आम नागरिक देखि प्रमुख प्रतिपक्षी दलसम्मले सरकारको विरोध गरिरहेका छन्। सरकारले दिनुपर्ने सेवा, सुविधा र सुशासन जनताले अनुभव गर्न पाएका छैनन् ।

    पछिल्लोपटक नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका गतिविधिप्रति खवरदारी गर्दै विभीन्न टिप्पणी गरिरहनु भएको छ। सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको प्रचण्डको आरोप छ ।

    सरकार निरंकुश र जनविरोधी भएको तर्क प्रचण्डको छ । आफु सरकारमा बस्दा गरेका काम सबै राम्रा अर्को सरकारले गरेका काम नराम्रा र कामै नलाग्ने जस्ता टिप्पणी शिर्ष नेताले बेलाबेला गरिरहेका हुन्छन् ।

    प्रचण्डको यस्तो तर्क आईरहँदा नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले ‘प्रचण्ड’ लाई वर्तमान सरकार विचौलियाको हो भनेर पुष्टि गरेर देखाउन चुनौति दिनुभएको छ ।

    वर्तमान सरकार विचौलियाहरुको हो भनेर पुष्टि गरेर देखाउन र होईन भने जे पायो त्यही नबोल्न चेतावनी दिनुभएको हो । सरकारबाट हट्नुपरेको पिडा प्रचण्डले पोखेको श्रेष्ठको आरोप छ ।

    राजनितीमा आरोप प्रत्यारोप अहिले सामान्य जस्तो भईसकेको छ । आज मिलेर बसेका दल भोलि बिहान विरुद्धमा उभिएका घटना धेरै छन् ।पूर्वप्रधानमन्त्री प्रचण्डले गिरिबन्धु टी– इस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप पनि लगाउनहुन्छ ।

    उहाँले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको दाबी गर्नुभयो । भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने जिकिर प्रचण्डको छ ।

    पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो आरोप लगाईरहँदा एमालेले यो भनाईको खण्डन गरिरहेको छ । एमाले नेता श्रेष्ठले प्रचण्डमा आफ्नो जिउमा भैंसी हिँडेको नदेख्ने र अरुको जिउमा जुम्रा हिँडेको पनि देख्ने प्रवृत्ति रहेको टिप्पणी गर्नुहुन्छ ।

    जुनसुकै सरकार आएपनि जनताले सुशासनको अनुभुति गर्न पाएका छैनन् । सरकारले गरेका राम्रो काममा समर्थन गर्नु र नराम्रो काममा खवरदारी गर्नु प्रतिपक्षी दलको कर्तव्य र जिम्मेवारी हो ।

    जिम्मेवार नेताहरु बोल्दा जहिले पनि आफु अनुकुल र सरकारप्रति रिस पोख्ने मात्र गरिराखेका हुन्छन् । तर आरोप प्रत्यारोप भन्दा सरकारले दिने सेवामा परिणाम आउने गरि खवरदारी गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म हो ।


    बुधवार, मंसिर २६ २०८१०८:०७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij