काठमाडौं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपाल र चीनबिच भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को फ्रेमवर्क सार्वजनिक गरेको छ।
फ्रेमवर्कमा ‘ग्रान्ट’ (अनुदान) भन्ने शब्द कतै पनि परेको छैन। यसको मतलब चीन सरकारले बीआरआई अन्तर्गत रहेर नेपालमा आवश्यकता अनुसार अनुदान, सहुलियतपूर्ण ऋण दिन वा ऋण लगानी गर्न सक्ने छ।
फ्रेमवर्कको बुँदा नं ४ अन्तगर्तको आर्थिक समन्वय उपशीर्षकमा एड (सहायता) भन्ने शब्द राखिएको छ। यसमार्फत चिनियाँ पक्षले बीआरआईमार्फत नेपालको विकासमा प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने उल्लेख छ।
यसमा दुई देशको आवश्यकता अनुरूप सहयोग गर्ने वित्तीय मोडालिटीहरू तय हुने जनाइएको छ। चीनले बीआरआईलाई संयुक्तरूपमा निर्माण गर्ने ढाँचाअन्तर्गत नेपालको विकास प्रयासलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने सम्झौतमा जनाइएको छ ।
दुवै देशले प्राविधिक,वित्तीय, व्यावसायिक र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ विश्लेषण गरेर प्राथमिकतामा परेका आयोजनाहरूको लागि बजेट छुट्ट्याउने उल्लेख छ।
त्यस्तै दुवै पक्षले अन्तर्राष्ट्रिय बहुपक्षीय वित्तीय विकास संस्था वा संयन्त्रलाई कनेक्टिभिटी र विकास प्रवर्द्धन गर्न थप आर्थिक सहयोग उपलब्ध गराउन आह्वान गर्न सक्ने पनि उल्लेख गरिएको छ।