काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको अध्यक्षमा फैसल दिन सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार भएको १८ औँ जिल्ला अधिवेशनबाट दिनको नेतृत्वमा ३१ सदस्यीय कमिटी चयन गरिएको थियो । तर अध्यक्ष मण्डलको एकलौटी निर्णयलाई अस्वीकार गर्दै पुनः नयाँ कमिटी निर्माण गरिएको हो ।
शनिबार भएको अधिवेशनमा अध्यक्ष मण्डल र निर्वाचन कमिटीको संयुक्त छलफलमा सहमति हुन सकेको थिएन । सहमति हुन नसके पछि निर्वाचन मण्डलका अध्यक्ष लालबहादुर बुढाथोकी कार्यक्रम स्थलबाट भागेर काठमाडौं आएर एकलौटी निर्णय गर्दै कमिटी घोषणा गर्नुभएको थियो ।
उक्त कमिटीको निर्णयलाई अस्वीकार गर्दै आइतबार फेरी नयाँ कमिटी घोषणा गरिएको हो । जस अनुसार अध्यक्षमा पुनः फैसल दिन उपाध्यक्षमा अनीश प्याकुरेल, दिनेशराज वाग्ले र सन्तोष अधिकारी ‘सर्गम’ सचिवमा कमल तिमिल्सिना, कोषाध्यक्षमा पुष्पा धमला र सह–सचिवमा विनोद घिमिरे, जीवन लामा र अर्जुना लामिछाने सर्वसम्मत चयन भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
यस्तै दिनको नेतृत्वमा ३१ सदस्यीय नयाँ टोली गठन भएको पनि निर्वाचन मण्डलले जानकारी दिएको छ । अध्यक्ष दिन लामो समयदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय रहेका थिए ।