काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताउनुभएको छ ।
‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आवश्यक नीतिगत तथा कानुनी व्यवस्थासहित भ्रष्टाचार अन्त्यका पक्षमा वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका आधारमा भ्रष्टाचारको विषय गम्भीर देखिएकाले त्यसको नियन्त्रणका लागि सम्बद्ध सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
राज्य संयन्त्र अन्तर्गतका महत्वपूर्ण निकायमा विचौलिया हाबी हुने गरेकाले सुशासन कायम हुन नसकेको उल्लेख गर्दै आवश्यक नियम कानुन तर्जुमा गरी भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जुनसुकै संस्थाको पनि नेतृत्व गर्ने व्यक्ति इमानदार भयो भने सदाचार कायम हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।