काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताउनुभएको छ ।
झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताउनुभयो । जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने उहाँको भनाइ थियो ।
कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २,३ र ४ का छ हजार पाँच सय २१ घरधुरीका २६ हजार सात सय ४३जनसंख्या लाभान्वित हुनेछन् ।