काठमाडौं। नेपाली कांग्रेसका नेताहरुले अहिलेको बलियो सरकारले जनअपेक्षा अनुसारको डेलिभरी दिन सक्नुपर्नेमा दबाब दिन थालेका छन्। कांग्रेस नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्य दुईदल कांग्रेस एमालेबिच गठबन्धन गरेर सरकारमा सहभागी बनेपछी सोहीअनुसारको नतिजा दिनुपर्ने बताउनुभएको हो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता कार्कीले देशकै सबैभन्दा ठुलो दल कांग्रेसले आफ्नै मुख्य प्रतिष्पर्धी दल एमालेसँग गठजोड गरेर सरकारमा सहभागी भैसकेपछी त्यसको परिणाम पनि सोही अनुसारको दिन सक्नुपर्ने तर्क गर्नुभयो ।
यसपटकको बलियो सरकारले पनि जनतामा सुशासन र डेलिभरी दिन नसके जनमानसमा कायम विश्वास घट्दै जाने र आगामी दिनमा यसको ठुलो मुल्य चुकाउनुपर्ने उहाँको चेतावनी छ । यदि नतिजा दिन नसके सरकारमा बसिरहन उचित नहुने सोही अनुसार नै कांग्रेस नेतृत्व लाग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।