Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह उपनिर्वाचनको समीक्षा : माओवादी उत्साहित, कांग्रेस एमालेका आ–आफ्ना तर्क, पुराना दलहरूप्रति नै जनताको विश्वास (खास खबर)

स्थानीय तह उपनिर्वाचनको समीक्षा : माओवादी उत्साहित, कांग्रेस एमालेका आ–आफ्ना तर्क, पुराना दलहरूप्रति नै जनताको विश्वास (खास खबर)

  • शनिवार, मंसिर २२ २०८१

  • 408
    SHARES

  • स्थानीय तह उपनिर्वाचनको समीक्षा : माओवादी उत्साहित, कांग्रेस एमालेका आ–आफ्ना तर्क, पुराना दलहरूप्रति नै जनताको विश्वास (खास खबर)
    काठमाडौं । राजनीतिक दलहरू यतिबेला स्थानीय तह उपनिर्वाचनको समीक्षामा व्यस्त छन् । आगामी २०८४ मा हुने आम निर्वाचनको मत सर्वेक्षणका रूपमा हेरिएको स्थानीय तह उपनिर्वाचनको मत परिणामलाई लिएर केही दलहरू उत्साहित छन् भने केही दलहरू निराश छन् । यस उपनिर्वाचनमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले केही खुम्चिएका छन् भने  नेकपा माओवादी केन्द्रले केही मत बढाएको छ । 
     
    मिसन ०८४को नारा लगाएर अगाडि बढेका केही दलहरूलाई भने यस उपनिर्वाचनले कमजोर तुल्याएको छ । यद्यपि, यो सानो अंशको उपनिर्वाचन हो र यसले मतदाता मनोविज्ञानको थोरै झलक मात्र दिन्छ । तथापि, कोशीको ताप्लेजुङ–झापादेखि सुदूरपश्चिम प्रदेशको बझाङ–कञ्चनपुरसम्म, कर्णालीको डोल्पा–हुम्लादेखि मधेसको सप्तरी–महोत्तरीसम्म समेटिएको यो उपनिर्वाचनले कुनै न कुनै रूपमा राष्ट्रिय मतदाता मनोविज्ञानको प्रतिनिधित्व भने गर्दछ ।
     
    निर्वाचनमा ७ वटा राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जसपा नेपाल, रास्वपा, नेकपा (एकीकृत समाजवादी) र नेमकिपाका साथै एक स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व भएका राप्रपा, जनमत, अशोक राई नेतृत्वको जसपा, लोसपा, नागरिक उन्मुक्ति, नेसपा, आजपा र राष्ट्रिय जनमोर्चाले कुनै परिणाम निकाल्न सकेनन् । 
     
    सातै प्रदेशका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको मत परिणामले कांग्रेस, एमाले र माओवादीले एकअर्काका पद अदलबदल गरे पनि राजनीतिक रूपमा कुनै उथलपुथलको संकेत भने गरेको छैन । तरपनि उपनिर्वाचनको परिणामले  नेकपा माओवादी भने निकै हौसिएको छ । प्रमुख प्रतिपक्षी माओवादीले उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ सङ्कल्पका रूपमा लिँदा सफलता हात पारेको प्रारम्भिक समीक्षा गरेको छ । माओवादी केन्द्रका सचिव एवं पूर्व मन्त्री देवेन्द्र पौडेलले माओवादीले एक्लै चुनाव लड्न सक्दैन भन्ने भाष्यलाई पनि उपनिर्वाचनले खण्डन गरेको तर्क गर्नुभएको छ । अहिलेको सरकारले जनताले अनुभूति गर्ने गरी कुनै काम नगरेको दाबी गर्दै माओवादीले जनताका समस्या लिएर जाँदा जनतालले फेरी एकपटक देशको प्रभावशाली शक्तिको रुपमा बुझेको कुरा उपनिर्वाचनले संकेत गरेको उहाँ तर्क गर्नुहुन्छ ।
     
    यता आफूलाई चौतर्फी आक्रमण र पार्टी विभाजनका बाबजुद जनस्तरमा निकै बलियो दल भएको दाबी गर्दै आएको एमालेले उपनिर्वाचनमा केही मत गुमेको भएपनि मिसन ८४ सफल हुने दाबी गरेको छ ।  एमालेका नेता सूर्य थापाले उपनिर्वाचनको नतिजा अपेक्षाकृत नभएको स्वीकार गर्दै यसबारे पार्टीमा गम्भीर छलफलको आवश्यकता रहेको औँल्याउनुभयो । नेता थापाले आफ्नो केही मत घटेको भएपनि माओवादी पनि हौसिहाल्नुपर्ने अवस्था भने नरहेको जिकिर गर्नुभयो । उहाँले यस उपनिर्वाचनलाई आत्मसमीक्षाका रुपमा लिएको बताउनुभयो ।
     
    यस्तै कांग्रेसले भने संख्यागत रूपमा विगतको भन्दा कम जित हासिल गरे पनि गठबन्धनविना प्राप्त परिणाम सन्तोषजनक एवं उत्साहवद्र्धक भएको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको उपनिर्वाचनले राष्ट्रिय राजनीतिलाई प्रतिबिम्बित नगर्ने बताउँदै आगामी ८४ को निर्वाचनमा कुनै प्रभाव नपार्ने जिकिर गर्नुभयो । तरपनि कांग्रेसले आफ्नो संगठनलाई भने बलियो बनाएर लैजाने उहाँको भनाई छ ।
     
    यसैगरी चुनावी परिणामको समीक्षा गर्दै राजनीतिक विश्लेषकहरूले भने माओवादीको पक्षमा प्राप्त यो उपलब्धि उसले आर्जन गरेको सैद्धान्तिक, वैचारिक र कार्यक्रमिकभन्दा पनि एमाले–कांग्रेस गठबन्धन उराठलाग्दो कुशासन राजप्रतिको वितृष्णा बढी हुन सक्ने विश्लेषण गरेका छन् । राजनीतिक विश्लेषक मुमाराम खनाल भने पुराना दललाई सामाजिक सञ्जालमा जतिसुकै गालीगलौज गरे पनि निर्वाचनका बेला तिनै दललाई जनताले विश्वास गरेको सन्देश उपनिर्वाचनले दिएको तर्क गर्नुहुन्छ । यो उपनिर्वाचनले आगामी ८४ को निर्वाचनलाई धेरै प्रभाव नपार्ने दाबी गर्दै उहाँले पुराना दलहरूप्रतिको विश्वास भने अझैं नभत्किएको धारणा राख्नुभयो ।
     
    निर्वाचन लोकतन्त्रको एक महत्त्वपूर्ण प्रक्रिया हो । मतदानद्वारा जनता आफ्नो प्रतिनिधिहरूलाई चुन्दछन् । यसरी जनताले चुनेर पठाएका प्रतिनिधिले अपेक्षा अनुसार काम गर्न नसक्दा व्यवस्थाप्रति नै जनतालाई वितृष्णा जाग्न सक्छ । वैकल्पिक शक्ति भनिएकाहरूले पनि जनचाहना अनुरूप काम नगर्दा फेरी एकपटक जनताले पुराना दलहरूलाई विश्वास गरेको संकेत गरेका छन् । उक्त विश्वासलाई जोगाई राख्नु पुराना दलहरूलाई चुनौतीको विषय हो । साथै लहड, रहर र अवसरवादप्रेरित नयाँ र वैकल्पिकले सार्थक परिणाम दिन नसक्ने र त्यसका लागि गम्भीर र विश्वसनीय विकल्पको प्रयास आवश्यक छ भन्ने पुनर्पुष्टि पनि यो उपनिर्वाचनबाट भएको छ ।
     
     


    शनिवार, मंसिर २२ २०८१०८:१३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij