काठमाडौं। नेपाली कांग्रेसले चीनसँग गरिएको बीआरआई सम्झौता ऋण नभएर आवश्यकताअनुसार परिणत गर्न मिल्ने दाबी गरेको छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ’बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ फ्रेमवर्कमा गरिएको समझदारी ऋण सम्झौता नभएर आवश्यकताअनुसार ऋण र अनुदान दुबैका लिन मिल्ने समझदारी रहेको दाबी गर्नुभएको हो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा प्रवक्ता महतले छिमेकी देशहरुसँग अहिले नेपालले अनुदानका परियोजनाबाहेकका योजनाहरु अगाडी बढाउन सक्ने अवस्थामा नरहेको भन्दै प्रधानमन्त्री ओलीले पनि चीन भ्रमणमा सहमतीअनुसारकै सम्झौता गरेर आएको बताउनुभयो ।
उहाँले आगामी दिनमा बीआरआइ परियोजना कार्यान्वायनको चरणमा जाँदा कुनैपनि हालतमा ऋण नभै अनुदान मात्रै कार्यान्वायन गरिने भएकोले यसतर्फ अन्य अनावश्यक शंका आशंका गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो ।