काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन सहमतिमै गरिने बताउनु भएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने र राजनीतिक दलहरूको सहमतिबाटै शंसोधन गरिने प्रस्ट पार्नुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई ) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो । वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो ।
भोलि शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन विराटनगर जानु भएका देउवाले मुलुकमा राजनीतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको बताउनुभयो । सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनबाट नेतृत्व चयन हुने बताउनुभयो ।