काठमाडौं। स्थानीय तह उपनिर्वाचनअन्तर्गत जारी मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले ४१ पदका लागी हिजो भएको मतदानको अहिलेसम्म ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको जनाएको छ।
आयोगका अनुसार नतिजा आउन बाँकी स्थानीय तहमा कीर्तिपुर नगरपालिका,दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष, र उदयपुरको वेलका वडानम्बर ९ मतगणना जारी छ।
सार्वजनिक मत परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, दुइटा उपाध्यक्ष र ६ वटा वडा जितेर दोस्रो स्थानमा छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ।
जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन्।
जारी मतगणनामा कीर्तिपुरको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् भने दोलखाको गौरिशंकरमा माओवादी उम्मेदवार र वेलकाको प्रारम्भिक मतगणनामा माओवादीको अग्रता रहेको छ।