काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा अहिले बीआरआईको चर्चा त छदैछ । त्यस्तैगरि, नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने बिषय पनि अहिले राजनितिक बृतमा उठेको बिषय हो ।
हामीकहाँ प्रधानमन्त्रीले गर्ने भारत र चीनको भ्रमणलाई लिएर विभिन्न टीका–टिप्पणी हुने गरेका छन्। प्रधानमन्त्री बनिसकेपछि भारत र चीनमध्ये जुन देशको भ्रमण पहिला गरे पनि बहसको विषय बन्ने गर्छ ।
नेपालका प्रधानमन्त्रीहरुले पहिले औपचारिक भ्रमण भारतबाट गर्ने गरेका थिए ।राजनीतिक विश्लेषक मुमाराम खनालले भारत भ्रमणको प्रयास असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ जान लागेको टिप्पणी गर्नुहुन्छ ।
खनालले प्रधानमन्त्री ओलीले चीन भ्रमणको कुरा निकालेर भारतले बोलाइदिए हुन्थ्यो भन्ने आशय राखेको भएपनि त्यसो नभएको दावी गर्नुहुन्छ । चीन भ्रमणको कुरा निकाल्ने वित्तिकै भारतले पहिला बोलाउला भन्ने थियो तर, भारतले त्यतिधेरै ओली सरकारलाई वास्ता गरेको देखिएन विश्लेषक खनालको तर्क छ ।
कूटनीतिज्ञ एवं राजनीतिक विश्लेषक डा.अरुण सुवेदीले नेपालका प्रधानमन्त्रीहरुले पहिले औपचारिक भ्रमण भारतबाट सुरु गर्नुपर्छ भन्ने कुरा परम्परा नभएको बताउनुहुन्छ । भौगोलिक परिस्थिति अनुसार भारतसँग नेपालको धेरै बिषयस्तु जोडिनु स्वभाविक भएपनि पहिला भारतवाटै भ्रमणको सुरुवात गर्नुपर्छ भन्ने कुनै परम्परा नभएको भनाई उहाँको छ ।
भारतमा भन्दा पहिले चीनमा समय मिल्यो जानुभयो त के भयो? विश्लेषक डा.सुवेदी भन्नुुहुन्छ ,बढी चर्चा गरेर पहिले भारत कि चीन? भन्दै अतिरञ्जित गर्नुपर्ने बिषय हुदै होईन ।।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले जुन देशले पहिला निम्ता दिन्छ त्यही जानुपर्ने भन्दै कुनै पनि परम्परावादको कुरा यसमा नआएको प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे बोलाउनुभएको पूर्वप्रधानमन्त्रीहरुको छलफल कार्यक्रममा बताउनुभएको थियो ।
भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति प्रधानमन्त्री ओलीले यसअघि नै आपत्ती जनाईसक्नु भएको छ । ओलीले दरबारमार्गमा एमालेको जनजागरण सभामा सम्बोधन गर्दै पहिले कहाँ जानुप¥थ्यो भन्ने कहाँ लेखको छ भन्दै प्रश्न गर्नुभएको थियो।
यसैगरि, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै चाइना कार्ड खेल्नका लागि ओली भारत नगइ चीन भ्रमणमा जान लागेको आरोप लगाउनुभएको थियो। त्यसको एमालेले कडा शब्दमा विज्ञप्ति मार्फत् पनि खण्डन गरिसकेको छ ।