काठमाडौं । पटक-पटक सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्न लागेको छ । दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले जानकारी दिनुभयो ।
पदाधिकारी तथा प्रभावशाली नेताहरुका बीचमा छलफल गरेर सहमतीपछि मात्रै बैठक बस्ने तयारी गरेकाले बैठक पछाडी सर्दै आएको थियो । काँग्रेसमा सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा विभागहरु गठन गरेपछि विवाद चर्किदै गएको छ ।
विभाग गठन लगायतका कतिपय विषयमा असन्तुष्टि जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केही समय अगाडि १६ बुँदे विरोधपत्र पार्टी कार्यालयमा दर्ता गराएको थियो । त्यही विरोध पत्रमा उल्लेखित विषय कसरी सम्वोधन गर्ने भन्ने बारेमा पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक पटक पटक बसेको थियो ।
पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले ठोस निर्णय नगरेपनि दुई पक्षका बीचमा बढ्दै गएको दुरी केही कम भएकाले केन्द्रीय समिति बैठक सहज तरिकाले अगाडि बढ्ने विश्वास गरिएको छ ।
विभाग गठन, क्रियाशील सदस्यता वितरण, फरक दलबाट आएकाको समायोजन र क्रियाशील सदस्यता, भातृ संस्थाको पदावधि लगायतका विषयमा उत्पन्न विवाद नमिल्दा सम्म महाधिवेशनको मिति सार्ने र सरकार विरुद्ध आन्दोलन गर्ने कार्य गर्न नसकिने असन्तुष्ट पक्षको अडान छ ।
बैठकमा दुई पक्षको विवादलाई न्यूनिकरण गर्दै महाधिवेशन केन्द्रीत केही प्रस्तावहरु पेस गर्ने तयारी संस्थापन पक्षले गरेको छ । पार्टीको सदस्यता सम्वन्धी विवाद टुङ्ग्याउन नेता रमेश लेखकको नेतृत्वमा छानविन समिति बनाउने, महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रम तय गर्नेलगायतका विषयमा पनि छलफल हुने नेता भण्डारीले जानकारी दिनुभयो ।