काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले बताउनुभयो।
उहाँका अनुसार परराष्ट्र मन्त्री राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्नुहुने छ। परराष्ट्र मन्त्रीको टोलीमा रहने व्यक्तिहरूको भ्रमण पनि स्वीकृत गरिएको मन्त्री गुरुङले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने चीन भ्रमणको पूर्व तयारीका लागि परराष्ट्र मन्त्री बेइजिङ जान लाग्नुभएको हो । यस अगाडि स्वास्थ्य उपचार गराएर जापानबाट बेइजिङ जाने तयारी गरे पनि डाक्टरको समय नमिलेपछि परराष्ट्रमन्त्री राणाले जापान भ्रमण स्थगित गर्नुभएको थियो।