काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नगर्न स्पष्ट पार्नुभएको छ। आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार(आज) पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋण परियोजना कार्यान्वयनमा हस्ताक्षर गर्ने तयारी नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट प्रस्ट पार्नुभयो।
‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदै छ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन’, प्रधानमन्त्रीले सरोकारवालाहरूसँगको छलफलमा भन्नुभयो, ‘चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।’
त्यस क्रममा प्रधानमन्त्री ओलीले पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्र हितलाई सर्वोपरि प्राथमिकतामा राख्ने बताउनुभयो । ‘त्यसकारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र एमालेका बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउनुको कुनै अर्थ छैन’, प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले विश्वशान्ति र नेपालको हितबाहेक अरू कुनै काम नगर्ने भन्दै यसमा ढुक्क हुन आग्रह गर्नुभयो । चीन भ्रमणमा विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिनुभयो । नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रूपमा कसैले लिन नहुने प्रधानमन्त्रीको आग्रह छ ।
छलफलमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गर्नुभएको थियो ।
प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेन्डाका विषयमा गृहकार्य भइरहेको र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिम रूप दिने बताउनुभयो ।
उहाँले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताउनुभयो । छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं उपत्यका बाहिर रहेका कारण अनुपस्थित भए भने पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा.प्रकाशचन्द्र लोहनी, डा.विमला राई पौड्याललगायत सहभागी थिए ।