काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चिन भ्रमण पूर्ण रुपले सफल हुने दाबी गरेको छ।नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेस एमालेकै सहमती र योजनाअनुसार नै प्रधानमन्त्री ओली चिन भ्रमणमा जाने र विभिन्न समझदारी हुने बताउनु भएको छ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा उहाँले प्रधानमन्त्री ओली सहमतिबाहिर नजाने दाबी गर्नुभयो । उहाँले विआरआइका सन्दर्भमा ऐले ऋण लिन सक्ने अवस्था नभएकोले अनुदानका रुपमा स्वीकार गरिने बताउँदै प्रधानमन्त्रीले पनि सोही अनुसार सहमती गरेर आउने धारणा राख्नुभयो।
बिआरआईमा सहमती भैसकेको दाबी गर्दै उहाँले अनुदानमा बिआरआइमात्रै नभएर अन्य परियोजना पनि भित्राउनुपर्ने बताउनुभयो।
पूर्वराज्यमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले यसपटकको कांग्रेस एमालेको वर्तमान सरकारले देशलाई स्थायित्व र निकास दिने गरी योजनाका साथ अगाडी बढेकोले गठबन्धनमा कुनै समस्या नआउने दाबी गर्नुभयो।
फरक प्रसङ्गगमा कांग्रेसका नवनियुक्त कोषाध्यक्ष श्रेष्ठले अल्पकालिन र दिर्घकालिन सोच बनाएर कोष व्यवस्थापन र मजबुत बनाउने बताउनुभयो। उहाँले कोष पूर्णरुपमा पारदर्शी बनाउने प्रतिवद्धतासमेत जनाउनु भयो। श्रेष्ठलाई हिजो मात्रै कांग्रेस सभापति शेर बहादुर देउवाले कोषाध्यक्षमा मनोनयन गर्नुभएको हो।