काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह र नेकपा एमालेबीच समय समयमा विभिन्न विवादहरु हुने गरेका छन् । शुक्रबार दरबारमार्गमा एमालेले जागरण सभाको आयोजना गर्यो।
महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।
सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै काठमाडौं महानगरले नेकपा एमालेलाई जरिवानाको पत्र लेखेको थियो । सोही पत्र अहिले नेकपा एमालेले बुझ्न अस्विकार गर्दै आईरहेको छ ।
महानगरका मेयर बालेन्द्र साहकै आदेशमा सस्तो स्टन्टबाजीका लागि जरिवाना तोकेको भन्दै एमालेले प्रतिवाद गर्दै आएको छ ।
आज जरिवानापत्र बुझाउन पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गर्यो । पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरायो ।
एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गर्नुहुन्छ । यो सस्तो स्टन्टबाजी भएको तर्क उहाँको छ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाउदै आएको छ ।
एमालेका प्रभावशाली नेता विष्णु रिजालले काठमाडौं महानगरले आफ्नो पार्टीलाई एक लाख जरिवाना गराएको विषयलाई ‘एमालेको क्रेज समाप्त पार्ने षड्यन्त्र’ को संज्ञा दिनुहुन्छ ।
मेयर बालेन शाहबारे रिजालले भन्नुभयो, हावादारी, पूर्वाग्रही, त्यस्तो बच्काना र अरुबाट परिचालित मान्छेको के कुरा गर्नुहुन्छ ? यो अत्यन्तै आपत्तिजनक, हो । यसको जति शब्दले पनि भत्र्सना गर्दापनि कमी हुन्छ ।’’
आजै सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको थियो।
बैठकमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने र फोहोरमा राजनिति गर्न नहुने बताउनुभयो ।
गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।
नेकपा एमालेले महानगरको पत्रलाई ‘औचित्यहीन चिर्कटो’ भनिरहेको छ भने मेयर बालेन साहले जसरि पनि जरिवाना तिराएरै छाड्ने अडानमा हुनुहुन्छ । महानगरका मेयर बालेन्द्र साहकै आदेशमा सस्तो स्टन्टबाजीका लागि जरिवाना तोकेको भन्दै एमालेले त्यसको प्रतिवाद गर्दै आएको छ ।