काठमाडौं । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाको सांसद पद जोगिएको छ । सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी सापकोटालाई कारबाही नगर्ने निर्णय गर्नुभएको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार जनमत पार्टीले पठाएको पत्रबारे निर्णय गर्दै सभामुखले उहाँलाई पदबाट नहटाउने निर्णय गरेको जानकारी दिनुभयो ।
‘सभामुखज्यूबाट निर्णय भएको छ,’उहाँले भन्नुभयो, ‘राजनीतिक दल सम्बन्धी ऐन ऐनको दफा ३२ को उपदफा १, २, ३, ४ र ५ सम्बन्धी जुन प्रक्रिया छन् त्यी प्रक्रिया पुरा भएको नदेखिएको त्यसैगरी दफा ३८ को प्रक्रिया पुरा भएको नदेखिएकोले सांसद पद गएको सूचना निकाल्न नपर्ने निर्णय सभामुखज्यूबाट भएको छ ।’
प्रवक्ता गिरीले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, दफा ३२ र ३८ को प्रावधानमा आधारित भएर सभामुखबाट निर्णय भएको उहाँले जानकारी दिनुभयो । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै जनमतले लाभलाई कारबाही गरेको र सांसद पदबाट हटाइएको सूचना टाँस गर्न भन्दै संसद् सचिवालयमा पटक पटक पत्र दर्ता गराएको थियो ।
सभामुखले पत्रको सुनुवाइ नगरेको भन्दै पार्टी अध्यक्ष सिके राउत आफैँ संसद् सचिवालय पुगेर सभामुखसँग छलफल गर्नुभएको थियो ।