काठमाडौंं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ।
हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्चतमूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो,‘हामीले नागरिकहरुकै सेवा भनेर हवाइ कम्पनीहरुलाई सहुलियत दिएका थियौं । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ । नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ । यस विषयले म निकै दुखी भएको छु ।’
यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गर्नुभयो।
हवाई भाडाबृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउदै उनले राज्य र नागरिक प्रति जिम्मेवार बन्न एयरलायन्सलाई आग्रह पनि गर्नुभयो।
मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले समेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत पनि गराउनुभयो।