काठमाडौं। सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क शुरू गरेको छ। भक्तपुर क्यान्सर अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क शुरू गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले यो निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाण्डौ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल शुरू गर्नुभएको थियो ।