काठमाडौं। नेपाली कांग्रेसले पूर्वसभामुख स्व.दमननाथ ढुङ्गानाको निधनले सिँगो देशलाई नै अपुरणीय क्षति पुगेको बताएको छ। कांग्रेस नेता एवं पूर्वमन्त्री डा.नारायण खड्काले नेपालको लोकतन्त्रमा स्व.दमननाथ ढुङ्गानाको अतुलनिय योगदान रहेको स्मरण गर्दै उहाँको निधनले मर्माहत तुल्याएको उल्लेख गर्नुभयो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानिका क्रममा खड्काले स्व. ढुङ्गाना सभामुख हुँदा उहाँको भुमिका निश्पक्ष र प्रभावकारी रहेको बताउनु भयो। उहाँले सरकार सत्तापक्ष र संसद प्रतिपक्षीको हो भन्ने कुरा स्थापीत गराएको पनि बताउनु भयो ।
सरकार सत्ता पक्षको, सदन प्रतिपक्षको भन्ने प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई मुखरित गर्दै सभामुखको भूमिका पनि तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमै स्थापित गर्नुभएका ढुङ्गाना कानुनका ज्ञातासमेत हुनुहुन्थ्यो ।
केही समयदेखि कलेजोसँग सम्बन्धित समस्याले ग्रसित ८३वर्षीय स्व.ढुङ्गानाको हिजो दिउँसो काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज ११ बजे ज्ञानेश्वरस्थित सानो गौचरणमा दुई घण्टा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
यसैबिच,अन्तवार्ताकै क्रममा फरक प्रसङ्गमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहनु भएका नेता डा. खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चिन भ्रमण विषेश उपलब्धीमुलक हुने विश्वास लिइएको जानकारी दिनुभयो।
उहाँले पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्त गरेको चाइना कार्डको अभिव्यक्तीमा ज्ञानको अभाव देखीएको तर्क गर्नुभयो। यो अभिव्यक्ती प्रचण्ड आफैलाई पनि राम्रो नहुने बताउनुभयो।