काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमण गर्दै हुनुहुन्छ । भ्रमणको औपचारिक घोषणा हुन बाँकी रहेपनि विभिन्न कोणबाट बहस र चर्चा शुरु भएको छ । मंसिर तेस्रो साता भ्रमण गर्ने प्रधानमन्त्रीको तयारी रहेपनि सरकारले एजेन्डा तय गरिसकेको छैन । प्रधानमन्त्री भएसँगै पहिलो भ्रमण प्रायः भारतबाट शुरु गर्ने प्रचलन भएपनि ओलीलाई भारतको निम्तो नआउँदा चीन भ्रमणको तय गरिएको हो । पछिल्लो समय भारतले चासो नदिएको भन्दै विभिन्न आलोचना समेत हुने गरेका थिए । केही दिनअघि पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय अखबारमा ओलीमाथि चाइना कार्ड फ्याँकिएको बताउनुभएको थियो । त्यो विषयमा एमालेले प्रचण्डलाई जनतासँग माफी माग्न भनेको छ । राजनीतिक विश्लेषक प्रा.डा. प्रेम शर्माले चीन र भारतलाई समान भावका साथ हेर्नुपर्ने बताउनुभयो ।
चीनले प्रधानमन्त्री ओलीलाई डिसेम्बर २–५ (मंसिर १७ देखि २० गते) सम्म भ्रमण गर्न निमन्त्रणा गरेको छ । दुई ठूला पार्टी कांग्रेस र एमालेको गठबन्धनबाट नयाँ सरकार बने लगत्तै चीनले नेपालस्थित आफ्ना राजदूत छन् सङमार्फत प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गरेको थियो । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीले पाएको विदेश भ्रमणको यो पहिलो निमन्त्रणा हो । असोज दोस्रो साता चीनको औपचारिक भ्रमण गर्न आग्रह हुँदा पनि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका जाने तय भएकाले तत्काल चीन भ्रमण हुन सकेन । यो भ्रमणमा चीनका तर्फबाट बीआरआईलाई कार्यान्वयन गराउने एजेण्डा हुनेछ । कांग्रेस नेता एवं सांसद शेखर कोइरालाले भ्रमणका एजेण्डा दुवै देशको सहमतिमा टुंग्याउनुपर्ने बताउनुभयो ।
चिनियाँ पक्षले एजेन्डा तय गरेर पठाएपछि मात्रै नेपाली पक्षले प्रधानमन्त्रीसँग के कस्ता प्रस्ताव तयार पार्ने भन्नेबारेमा बसेर छलफल गर्नेछ । गठबन्धन नै तलमाथि हुने गरी प्रधानमन्त्री ओलीले चीनसँग कुनै खालको सम्झौता गर्ने छैनन् । कांग्रेसको सहमतिबेगर बीआरआई कार्यान्वयन योजनामा पनि सम्झौता नहुने बताइएको छ । भारतसँग सम्बन्ध राम्रो नभए पनि संयमित भएर अघि बढ्न खोजेको सन्देश ओलीले दिइरहेका छन् ।