काठमाडौं । पटक पटक अन्यौलमा परेको नेकपाको सचिवालयको बैठक भोली दिउसो चार बजेका लागि तय गरिएको छ । महासचिव विष्णु पौडेलले भोली शुक्रबार दिउसो चार बजेपछि बस्नेगरी बैठक बोलाउनु भएको हो ।
सचिवालयका असन्तुष्ट पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल बैठक बोलाउन पटक पटक आग्रह गर्दा पनि यसअघि अस्विकार गर्दै आउनु भएको थियो । तर आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बैठक बस्ने तयारी भएपछि ओलीको निर्देशनमा पौडेलले बैठक बोलाउनु भएको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अनिच्छाका बाबजुद असन्तुष्ट पक्षको पटक पटकको दवावका कारण बैठक बस्ने तय भएको हो । नेकपामा अध्यक्ष प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले तत्काल बैठक बोलाउन ओलीलाई पटक पटक आग्रह गर्दा पनि उहाँले अस्विकार गरेपछि केही दिन अगाडि लिखित आग्रह गर्नु भएको थियो ।
उहाँले आग्रहलाई वेवास्ता गरेपछि अध्यक्ष दाहालले बोलाउनु भएको बैठक अव नबस्ने संभावना रहेको छ । असन्तुष्ट पक्षले आज दिउसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको थियो । सो बैठकमा अध्यक्ष ओली सहभागी नहुने भएपछि उहाँले महासचिव पौडेललाई अर्को बैठक बोलाउन लगाउनु भएको हो ।
नेकपाको हालको विधानमा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । यो व्यवस्था अनुसार प्रचण्डको आग्रहमा ओलीले महासचिव पौडेललाई बैठक बोलाउन लगाएपछि बैठक बस्ने विषयले उत्पन्न विवाद मत्थर हुने देखिएको छ ।
अव बैठकमा ओलीप्रति असन्तुष्ट बहुमत सचिवालय सदस्यहरुको भूमिका के होला भन्ने चासो बढेको छ ।
नेकपा सचिवालयमा अध्यक्ष ओलीको पक्षमा उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल र गृह मन्त्री रामबहादुर थापा बादल गरी चार जना हुनुहुन्छ भने उहाँप्रति असन्तुष्टहरुको समूहमा अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठगरी पाँच जना हुनुहुन्छ ।
असन्तुष्ट पक्षले सरकारको काम कारबाही, प्रधानमन्त्री ओलीको भूमिका, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटवार्ता, नक्शालगायतका विषयमा असन्तुष्टि जनाउदै आएको छ ।