काठमाडौं। नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनःसुरु गरेको छ। कांग्रेस चितवनले आज पत्रकार सम्मेलन गरी अभियान कात्तिक ३० देखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिएको हो।
असोज ६ गते सुरु गरेको अभियान वर्षातका कारण स्थगन गरिएको थियो। अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य पुगिसक्नु भएको छ।
केन्द्रीय प्रतिनिधिका रुपमा आएका आचार्यको उपस्थितिमा यहाँका सात पालिका र ९८ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो।
जिल्लाले सातै पालिका र ९८ वटै वडामा महाधिवेशन, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका सदस्यलाई प्रतिनिधिका रुपमा खटाइएको उहाँले बताउनुभयो।
खटाइएका प्रतिनिधिले मङ्सिर १० गते एकैपटक सबै वडा तहमा बैठक राखेर अभियानको सुरुवात गर्ने छन्। यस्तै वडा, क्षेत्रीय समिति, प्रदेश समितिलगायतका संरचनाको बैठक भेलालगायत काम सञ्चालन गरिनेछ।
यससँगै अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस गरिने केन्द्रीय सदस्य आचार्यले जानकारी दिनुभयो ।