काठमाडौं। दक्षिण एसियामा पहिलोपटक त्रिदेशीय विद्युत् व्यापार सुरु भएको छ । दक्षिण एसियाली मुलुकमा दुईपक्षीय विद्युत् व्यापार भइराखेकामा पहिलोपटक त्रिदेशीय व्यापार सुरु भएको हो ।
दक्षिण एसियामै नेपाल–भारत, बंगलादेश–भारत, भुटान–भारतबीच ऊर्जा व्यापार भइरहेको थियो । जलविद्युतमा बढी सम्भावना भएको भूपरिवेष्ठित राष्ट्र नेपालबाट भारत र बंगलादेश निर्यात सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरेको छ । विद्युत् व्यापारको इतिहासमै नेपालको बिजुली भारतपछि अर्को देश पुगेको हो ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि आज प्राधिकरणले विद्य्ुत् निर्यात गरेको हो ।
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले आज भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको सुभारम्भ गर्नुभएको हो ।
नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात आज मध्यान्ह १२ः३० बजेबाट सुरु भएको हो । यसवर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात आज राति १२ बजेसम्म मात्र हुनेछ ।
त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ। सम्झौताअनुसार हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ । सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पु¥याउनेछ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने प्रतिक्रिया दिनुभएको छ ।
पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अघिल्लो जेठमा प्रधानमन्त्रीका रुपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात गर्नका लागि भारत सरकार सहमत भएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रले प्रचण्ड सरकारको पालामा भएको त्रिपक्षीय सम्झौताकै कारण कारण नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन सम्भव भएको दाबी गर्दछ ।
माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ यो कार्यमा अनवरत रुपमा खटिनुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वपुर्ण योगदान रहेको बताउनुहुन्छ ।
यता, नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएपछि भारतीय पक्षले यसको स्वागत गरेको छ । भारतका ऊर्जामन्त्री मनोहर लालले नेपालले भारतमा २०२२ बाट निर्यात थाले पनि त्रिदेशीय व्यापार दक्षिण एसियामा पहिलोपटक सुरुवात भएको बताउनुभयो।
त्रिदेशीय व्यापारले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । क्षेत्रीय विद्युत् व्यापारमा प्रसारण लाइनमार्फत सघाउन भारत सधैँ तयार रहेको भारतले जनाएको छ ।
यस्तै, बंगलादेशका पावर डिभिजन सल्लाहकार (ऊर्जामन्त्री) मोहम्मद फोजुल कबिर खानले भारतीय प्रसारणलाइन प्रयोग गर्दै नेपालबाट ४० मेगावाट आयात गर्नु बंगलादेशको लागि कोशेढुंगा रहेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ । नेपाल–बङ्गलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ ।
प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । तसर्थ नेपालजस्ता मुलुकलाई समृद्ध बनाउनमा क्षेत्रीय विद्युत व्यापार कोसेढुंगा साबित हुन सक्छ ।
विगतमा आन्तरिक खपत नभएर र विदेशी बजारसमेत नपाएर वर्षायाममा करोडौंको बिजुली खेर गइरहेको अवस्थामा क्षेत्रीय विद्युत व्यापारको अवधारणालाई मूर्तरूप दिन सकिएमा यसले सुन्दर नेपाल र सुखी नेपालीको सपना भने साकार हुने देखिन्छ ।