काठमाडौं । सरकार सञ्चालनार्थ सहजीकरण हुने भन्दै सत्तारुढ दल कांग्रेस र एमालेले तिहारको छेको पारेर दुई दलीय संयन्त्रको गठन गरेका छन् ।
लामो समयपछि एकठाउँमा उभिएका एमाले–कांग्रेसले केन्द्रदेखि तल्लो तहसम्मका सरकार सञ्चालन र आगामी स्थानीय तहको उपनिर्वाचनलाई हेरेर संयन्त्र निर्माण गरेका हुन् । यो संयन्त्रका डिजाइनर जो कोही भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तजबिजमा बनेको हो । यसअघि माओवादीसँग तालमेल गरेर हरेक कांग्रेसीलाई हसिया हतौडामा मत हाल्न लगाउने देउवाले अबको रणनीति एमालेसँगको तालमेलतर्फ सोझ्याएका छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुई दलमा देखिने मतभेदको निरुपणका लागि संयन्त्र बनेको बताउनुभयो ।
दुई दलीय संयन्त्रले दुवै दलहरुको अस्तित्वलाई जीवन्त राख्न काम गर्ने बताइएको छ । निर्वाचन ताका प्रतिस्पर्धी दल भएपनि सरकारलाई सफल बनाउने दिशामा दुवै तयार रहनुपर्ने उनीहरुको बुभाइ रहेको छ । अहिलेको अवस्थामा जनतालाई सुशासनको आभास गराउन र विकासको गतिलाई तीब्रताका साथ अघि बढाउनका निम्ति एकठाउँमा उभिएको कांग्रेस–एमालेको दाबी रहेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले असमझदारीहरुको निराकरण गर्नु संयन्त्रको प्रमुख लक्ष्य हो ।
राजनीतिक विश्लेषक भेषराज घिमिरेले दुई फरक ध्रुवमा उभिएका दलहरुले हतास मनस्थितिमा संयन्त्र बनाएको नभई अप्ठ्याराहरुलाई चिर्नका लागि प्रयास गरेको हुनसक्ने उल्लेख गर्नुभयो ।
नेपालको राजनीतिमा हरेक पटक आफ्नो विरासत जोगाउनका निम्ति अनपेक्षित खेलहरु हुने गरेका छन् । राजनीतिक रुपमा फरक–फरक ध्रुवका दलहरुपनि स्वार्थ मिल्दा एकठाउँमा आउने प्रवृत्ति बनिसकेको छ । कांग्रेस–एमालेको सहकार्य के का लागि भन्ने विषय स्पष्ट नहुञ्जेल जनताले पनि यस्तै प्रश्न गरिरहने देखिन्छ ।।