काठमाडौं । दुई ठूला दलहरु कांग्रेस र एमाले मिलेर बनेको सत्ता सहकार्यका विषयमा धेरै प्रश्न उब्जिन थालेका छन् । मुलुकको अस्थिर राजनीतिसँगै सुशासनको प्रत्याभूति दिलाउने बाचासहित बनेको समिकरणले डेलिभरी दिन नसकेको आरोप लाग्ने गरेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर हुँदै गएपछि बनेको समिकरणले संविधान संशोधनको मुद्धालाई प्राथमिकताका साथ उठाएको छ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भने जनअपेक्षित काममा ध्यानै नदिएको आरोप लगाउनुभएको छ । भ्रष्टचार मौलाएको र आफ्नालाई बचाउने ध्यानमा सरकार रहेको उहाँको दाबी छ ।
दशैँको मुखैमा आएको अविरल वर्षापछिको बाढीपहिरोका कारण धनजनको ठूलो क्षति भएको छ । त्यो बेला सरकारलाई पूनर्जीवनका लागि धौधौ भएको थियो । अहिलेपनि धेरै ठाउँका सडक सञ्जालहरु सुचारु हुन सकेका छैनन् । घाइते अपांगको अवस्था दयनीय बनेको छ । सहकारी ठगहरु खुलेआम हिडिरहँदा बचतकर्ताको बिल्लीबाठ भएको छ । यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सहकारीका मुद्धामा कसैलाई काखापाखा नगरिने बताउँदै सरकारले काममा प्राथमिकता दिएको दाबी गर्नुभयो ।
सरकारले प्रभावकारी काम गरिरहेको सत्तापक्षले दाबी गरिरहेको छ । यो बीचमा जतिपनि देखिएका अस्थिरता, तरलता, विपद्हरुलाई जित्दै जनतालाई राहतको महसुश गराउन सक्नु सरकारको महानता हो । जुनसुकै समयमा जसको सरकार बन्दापनि निराशा मात्रै आउने हो भने व्यवस्थामाथिको प्रश्न पेचिलो बन्दै जानेछ ।