काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सहकारी प्रकरणमा जोडिएका सबैमाथी अनुसन्धान हुने बताउनु भएको छ। सरकारले यस प्रकरणमा जोडिएका कांग्रेस एमालेका शिर्ष नेताहरुलाई अनुसन्धान नै नगरि संरक्षण गरेको भन्दै चौतर्फी आलोचना भैरहेका बेला मन्त्री दाहालले यस्तो बताउनुभएको हो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै मन्त्री दाहालले सरकारले अव सार्वजनिक लेखा समिति सभापति एमालेका सांसद ऋषीकेश पोखरेल र कांग्रेस सांसद एवं पूर्वमन्त्री धनराज गुरुङ्गलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो।
उहाँले रास्वपाले सभापति रवी लामिछानेमाथी सहकारी ठगीको आरोप लागेपछी अनुसन्धानका लागी पक्राउ गर्दैमा सरकारविरुद्ध नाराबाजी गर्ने, अराजक गतिबिधी देखाउने, प्रधानमन्त्रीकै पुत्ला दहन गर्ने जस्ता गतिबिधी देखाएर नैतिकताविहिन पार्टी हो भन्ने पुष्टी गरेको टिप्पणी गर्नुभयो।
फरक प्रसङ्गगमा मन्त्री दाहालले विद्युत् प्राधिकरणले सरकारले गरेको निर्णय र निर्देशन मान्नुपर्ने जिकिर गर्नुभयो। यदि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्देशन नमानेको खण्ड सरकारले नै हटाएर नयाँ व्यक्तिनियुक्त गर्ने चेतावनी दिनुभयो।