काठमाडौं। सरकारले जिबि राईलाई छिट्टै नेपाल ल्याउने सत्तारुढ नेकपा एमालेले दाबी गरेको छ। एमाले सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले सहकारी प्रकरणका मुख्य अभियुक्त जितेन्द्र बाबु (जीबी)राई लाई अब छिट्टै नेपाल ल्याउने बताउनु भएको हो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेतृ अर्यालले एमाले नेतृत्वको सरकारले छिट्टै राईलाई नेपाल ल्याएर सहकारी पिडितहरुको रकम दिलाउने जिकिर गर्नुभयो। उहाँले सहकारी प्रकरणसँगै अन्य विभिन्न प्रकरणका कुनैपनि दोषीहरु नउम्किने बताउनु भयो।
उहाँले हिजो मात्रै कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेको भन्दै एमालेले गलत गर्नेहरु आफ्नो पार्टीका होस या अन्य कुनै पार्टीका नेता जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार पछी नहट्ने बताउनु भयो ।
फरक प्रसङ्गगमा नेतृ अर्यालले विद्युत महसुल बुझाउन बाँकी रहेका उद्योगीहरुले पनि बक्यौता बुझाउनु पर्ने र प्राधिकरणले पनि लाइन काटेका उद्योगहरुमा पनि यथासक्य छिटो लाइन जोडेर काम सुचारु हुने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो।
सरकारले देशमा कायम बेथीति अन्त्य गरेर आम जनतामा बढ्दो निराशा चिर्ने गरी काम गर्ने योजनामा रहेको नेतृ अर्यालले दाबी गर्नुभयो ।