काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले गरिरहेको सडक आन्दोलनको कुनै तुक नभएको बताउनुभएको छ ।
एक साता लामो गृह क्षेत्रको भ्रमणका लागि आइतबार सुदूरपश्चिम आएका पूर्वप्रधानमन्त्री देउवाले धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसका नेताहरूको पनि छानबिन भएको,प्रहरीले पक्राउ गरेको बताउँदै मुद्दा परेका बेला पार्टीले अदालतमा विश्वास गरेको बताउनुभयो ।
‘हाम्रा साथीहरूलाई पनि मुद्दा लागेको छ । पक्राउ परेका छन् । अदालतमा मुद्दा चलिरहेको छ । हामीले त कहिले हो–हल्ला गरेनौं, रास्वपाले पनि अदालतलाई विश्वास गर्नु पर्यो नि। अहिले मुद्दा अदालती प्रक्रियामा छ,’ देउवाले भन्नुभयो ।
उहाँले सत्ता गठबन्धनमा केही असमझदारी देखिएको चर्चा गलत भएको दाबी गर्नुभयो । यो गठबन्धन २०८४ सम्म टिक्ने उहाँले जिकिर गर्नुभयो । देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । देउवाले गृहजिल्लामा उग्रतारा जातमा सहभागी हुनुहुने छ । अन्य धार्मिक कार्यक्रम पनि सहभागी हुने सचिवालयले जनाएको छ ।