Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय

यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय

  • शनिवार, कार्तिक २४ २०८१

  • 636
    SHARES

  • यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय
    काठमाडौं । नेकपा एमालेले दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेकोमा जोड दिएको छ । आज च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बद्लिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रित परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको हो ।
     
    बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको बताउनुभयो ।
     
    ’अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ,’ ज्ञवालीले भन्नुभयो, ’अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।’
     
    उहाँले बैठकले प्रधानमन्त्री ओलीलाई चीन भ्रमण अधिकतम उपलब्धिमूलक बनाउन शुभकामना दिएको बताउनुभयो । उपमहासचिव ज्ञवालीका अनुसार बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गरेको छ भने सत्तारुढ दलहरूबीच थप विश्वासको वातावरण बनाउँदै अघि बढ्नुपर्ने निर्णय गरेको छ ।
     
    त्यस्तै, आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर परिचालित हुन निर्देशन गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
     
    त्यस्तै, बैठकले कोशी प्रदेशका सांसद लीलावल्लभ अधिकारीलाई प्रदेश कमिटीले संगठित सदस्यबाट निलम्बन गरेको निर्णय अनुमोदन गर्दै उनीमाथि लागेको आरोपबारे वस्तुनिष्ठ, तथ्यपरक र गम्भीर छानबिन हुनुपर्ने माग गरेको छ ।
     


    शनिवार, कार्तिक २४ २०८१०५:१९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij