काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले भ्रष्ट्राचार र अनैतिक काम गर्ने जोकोही पनि दायरामा आउने दाबी गरेको छ। एमाले नेता एवं पूर्वमन्त्री केशव बडालले गलत गर्ने एमालेको होस् या अन्य कुनै पार्टीको नेता जोकोही भएपनि दायरामा आउने दाबी गर्नुभएको हो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता बडालले सामान्य मान्छेदेखी जतिसुकै उच्च ओहदामा पुगेको व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याइने जिकिर गर्नुभयो ।
सहकारी प्रकरणमा मुछिएका एमाले नेता एवं लेखा समिति सभापति ऋषीकेश पोखरेल र मोटो रकम असुलेर युवाहरुलाई जापान पठाएर मानव तस्करी गरेको आरोप लागेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई सरकार र एमालेले किन संरक्षण गरेको हो भन्ने प्रह्नको जवाफ दिँदै नेता बडालले सुचना पाएलगत्तै अधिकारीलाई तत्काल पदबाट राजिनामा दिन लगाएको दाबी गर्नुभयो। पोखरेलको संबन्धमा पनि अनुसन्धान चलिरहेकोले छिट्टै सत्यतथ्य बाहिर आउने उहाँको जिकिर थियो ।
नेता बडालले रास्वपालक्षित टिप्पणी गर्दै एमालेले विगतमा पनि गलत गर्ने आफ्नै पार्टीका नेताहरुलाई जेल हालेकोले यसपटक पनि कोही नउम्किने र कोही रोइकराइ गर्नु नपर्ने बताउनुभयो ।