काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा, आज गाईगोरु र गोवर्धनपूजा गरी मनाइएको छ । सामान्यतया कात्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता भएपनि पञ्चाङ्ग निर्णायक विकास समितिले आज एकै दिन गाईगोरुको पूजा गर्न निर्देश गरेको थियो । लक्ष्मीको प्रतीकका रूपमा मानिने गाईको पूजा गर्ने परम्परागत मान्यता रहिआएको छ । गाईको पूजा गरेर खानेकुरा खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । यस्तै, गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन रहेको छ । नेपालजस्तो पहाडी भूभाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर हो । कृषिकर्म गर्ने कृषक वा पशुपालकको समेत पूजा गरिने भएकाले यो दिनलाई हलीतिहार पनि भन्ने प्रचलन रहेको छ । द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ । गाई गोरुको पूजा गर्नाले वर्षभरी उनीहरुले गरेको काम र अति उपयोगी जनावरको सम्मान रहेको संस्कृतिविद् सुरेशचन्द्र रिजालको भनाइ छ ।
भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ । समाजशास्त्री डा. दलिपकुमार मल्लका अनुसार कृषिमा जब मानिस प्रवेश गर्यो त्यो बेलादेखि गाई गोरुको पूजा गरिँदै आइएको छ ।
गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ । उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी खेल्ने परम्परा छ । देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ ।